काठमाडौँ । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोका कारण विभिन्न स्थानमा क्षति भएको छ। हिजो साँझ आएको वर्षा सँगैको हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा असर पारेको हो।
जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनीमा अविरल वर्षाका कारण गएको पहिरोले भेडा तथा बाख्रामा ठूलो क्षति पुर्याएको छ। प्रहरीका अनुसार चैनबहादुर विष्टका ५४ बाख्रामध्ये २ वटा मृत फेला परेका छन् भने ९ वटा बेपत्ता छन्। त्यस्तै अमृत ल्वारका ५६ बाख्रामध्ये ३ वटा मृत फेला परेका र १४ वटा बेपत्ता भएका छन्। यसैगरी राजबहादुर विष्टका ४० भेडामध्ये ५ वटा मृत फेला परेका र १० वटा बेपत्ता भएका छन् भने ऐनबहादुर विष्टका ९५ भेडामध्ये ३ वटा मृत फेला परेका र ५ वटा बेपत्ता भएका छन्। त्रिवेणी नगरपालिका–९, खोयामा कुलबहादुर साउँदको बाख्रा गोठ नजिकै रुखमा चट्याङ पर्दा गोठमा रहेका ३ वटा बाख्रा मरेका छन्। त्यस्तै खप्तड छेडेदह गाउँपालिका–१, काट्या तलगाउँमा बिरे रावलको काठ र जस्तापाताले बनेको पसल हावाहुरीले उडाएको छ। पसलभित्र रहेका जुत्ता, चप्पल, कपडा र सिलाई मेसिनमा समेत क्षति पुगेको छ। मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।