काठमाडौँ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा भएको वृद्धिलाई कारण देखाउँदै सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडामा समान ५ प्रतिशतले वृद्धि गरिएको हो। बढेको नयाँ भाडादर आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ।
यसअघि गत चैत २५ गते पनि यातायातको भाडा वृद्धि गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा दिएको सहमतिका आधारमा विभागले यो निर्णय लिएको हो। हाल बजारमा डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ, जसलाई भाडा वृद्धिको मुख्य आधार मानिएको छ।
इन्धनको मूल्य बढेका कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडा बढाइए पनि विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले स्पष्ट पारेको छ। यदि विद्युतीय सवारीसाधनले मनोमानी रूपमा भाडा बढाएको पाइएमा कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
अन्तरप्रदेश बाहेक एउटै प्रदेशभित्र चल्ने सवारी साधनको भाडाको हकमा भने सम्बन्धित प्रदेश सरकारले निर्णय गर्ने व्यवस्था रहेको छ।
