काठमाडौँ। कर्णाली प्रदेशसभाको सचिवमा डा। अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव खड्काले मंगलबार पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन् ।
उहाँलाई कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री यामलाल कँडेलसहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । नवनियुक्त सचिव खड्का नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ स्थायी घर भएका खड्काले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवका रूपमा काम गरेका थिए । साथै, उहाँसँग कानुन र न्याय क्षेत्रको करिब ४० वर्षको अनुभव रहेको बताइएको छ । मुख्यमन्त्री कँडेलले सचिव खड्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । प्रदेशसभा सचिवालयका कर्मचारीहरूले पनि उहाँलाई स्वागत गरेका छन् । यसअघि कर्णाली प्रदेशसभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पूरा भएपछि चैत २५ गते पदबाट राजीनामा दिएका थिए ।