काठमाडौँ। राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले देशका पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताएका छन्।
मंगलबार बसेको पूर्वाधार समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना विभिन्न अवरोधका कारण अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गरे। उनका अनुसार आयोजनाको कार्यान्वयनका लागि स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा समस्या थपिएको छ। पन्थले अन्य सामान्य आयोजनाभन्दा फरक प्राथमिकता दिई परिणाममुखी ढंगले सञ्चालन गर्ने कार्यविधि समेत स्पष्ट रूपमा तयार नभएको बताए।
उनका अनुसार जग्गा अधिग्रहण, रुख कटानी अनुमति तथा मुआब्जा वितरण प्रक्रियामा जटिलता रहेको छ। साथै ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य निर्माण सामग्रीको अभावले पनि धेरै आयोजना प्रभावित भएका छन्। उनले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिमा हुने प्रक्रियागत ढिलाइले आयोजनाको प्रगति सुस्त बनाएको बताए। केही आयोजनामा विनियोजित बजेटसमेत पूर्ण रूपमा खर्च हुन नसकेको र कतिपय योजनामा बजेट अपुग रहेको उनको भनाइ छ।पन्थले पूर्वाधार क्षेत्रको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट नीति, सहज प्रक्रिया र पर्याप्त स्रोत व्यवस्थापन आवश्यक रहेको जोड दिए।