काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न माग र नारासहित प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले मार्चपाससमेत गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले शैक्षिक संस्थामा हुने छात्रामाथिको हिंसाविरुद्ध एकजुट हुनुपर्ने, क्याम्पसलाई व्यापारिक केन्द्र बनाउन नहुने, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउनुपर्ने तथा विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने माग राखेका थिए। अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता मदन ढकालले संयुक्त विद्यार्थी संगठनको तर्फबाट विरोधस्वरूप मार्चपास गरिएको बताए। उनका अनुसार महँगी, सुकुम्बासी विस्थापन तथा राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हो।
ढकालले आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनमार्फत विभिन्न क्याम्पसमा थप कार्यक्रम र गतिविधि सञ्चालन गरिने जानकारी दिए। विद्यार्थी संगठन खारेज गर्ने हल्ला फैलाइएको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए। यस्तै, विद्यार्थी नेतृ ममता अधिकारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर आन्दोलन रोक्न नसकिने बताइन्। उनले विगतमा लोकतन्त्र स्थापनाका लागि विद्यार्थी र जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै विद्यार्थी आन्दोलनलाई दबाउन खोज्नु लोकतन्त्रमाथिको प्रहार हुने टिप्पणी गरिन्।