काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रमा वर्षौंदेखि रहेका सुकुमवासी बस्ती हटाइएपछि मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्र अहिले सुनसान र खाली देखिन थालेका छन्।
काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका बस्ती हटाउने अभियान सम्पन्न भएपछि सो क्षेत्रको स्वरूप नै परिवर्तन भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। नदी किनारको करिडोरलाई व्यवस्थित बनाउने र वागमती तथा मनोहरा नदीको स्वच्छता कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार सार्वजनिक जमिन संरक्षण तथा शहरी सौन्दर्य कायम राख्न बाध्य भएर कठोर कदम चाल्नुपरेको हो। बस्ती हटाइएपछि अहिले ती क्षेत्रहरू खाली र शान्त देखिएका छन्। यद्यपि, विस्थापित भएका परिवारहरूले भने आफूहरूलाई विकल्पबिना उठिबास लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले पुनःस्थापना र वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।