काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विभिन्न बहाना र धनीपूर्जाको आधार देखाउँदै जनतालाई घरबारविहीन बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनका अनुसार, “विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिँदै जनताको बासस्थान भत्काउने र उनीहरूलाई बेघर बनाउने कार्यलाई कुनै पनि हालतमा उचित ठहर गर्न सकिन्न र गर्नु पनि हुँदैन,” भन्दै उनले टिप्पणी गरेका छन्। अध्यक्ष राईले वर्तमान सामाजिक र राजनीतिक परिस्थितिमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन्। उनले थप लेखेका छन्, अरूलाई दुःख पर्दा आफूलाई पनि पीडा महसुस हुनु र सहयोगको भावना सहित सक्दो साथ तथा संघर्ष गर्नु नै हर्कवाद हो।