काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका गतिविधिसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री बादीले जनताको आशा, भरोसा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पूरा भएको उल्लेख गरेकी छन्। यस अवधिमा आफूले पदमा रहँदा नगर्ने कामहरू स्पष्ट रूपमा जनतासामु राखेकी हुन्। उनले नातागोता, सम्बन्ध, पहुँच वा चिनजानका आधारमा कसैलाई जागिर लगाउने, नियुक्ति दिने वा स्वार्थका लागि सरुवा–बढुवा मिलाउने काम नगर्ने बताएकी छन्। साथै कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, गलत कार्यमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने वा कारबाहीबाट जोगाउने कार्यमा पनि आफू नलाग्ने उनको भनाइ छ।
मन्त्री बादीले लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि बहानामा घुस, कमिसन वा भ्रष्टाचारमा नजोडिने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा, विभेद र अन्यायविरुद्ध सधैं दृढ रूपमा उभिने बताएकी छन्। राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस नस्वीकार्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा–क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी समेत नलिने उनको प्रतिबद्धता छ।
‘भोट दिएको आधारमा कसैको दबाबमा पर्ने छैन, सबै नागरिकलाई समान व्यवहार र सेवा दिनेछु,’ उनले उल्लेख गरेकी छन्। नागरिकका दुःख, संकट र अप्ठ्यारोमा सम्भव भएसम्म आफू स्वयं साथमा रहने बताउँदै उनले सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको जागरूकता र सामूहिक प्रयासबाट सम्भव हुने धारणा राखेकी छन्। सम्बन्ध होइन नियमको सम्मान गरौं, दबाब होइन न्यायको साथ दिऔं, व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई प्राथमिकता दिऔं,’ भन्दै उनले सबैलाई सुशासनको अभियानमा साथ दिन आग्रह गरेकी छन्।