दाङ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमबार जारी गरेको सूचनाअनुसार उक्त अधिवेशन बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरिएको हो ।
आगामी अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम, विधेयकहरू र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।