काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई कानुनी कारबाही अघि बढाइएको हो ।
अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले प्राविधिक सहायक चौधरीलाई ३० हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा चौधरीले खाद्य उद्योगको अनुमतिपत्र नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिँदै रकम बार्गेनिङ गरेको अख्तियारको आरोपत्रमा उल्लेख गरेको छ ।
आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको छ । आयोगले निजलाई ३० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आज मिति २०८३ साल वैशाख १४ गते उक्त आरोपपत्र विशेष अदालतमा दायर गरिएको हो ।