काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। शनिबार रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाउँदा ठप्प बनेको राजमार्ग मर्मतपछि आज सोमबार दिउँसो साढे ३ बजेदेखि सवारीसाधनका लागि खुला गरिएको हो।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको संयुक्त प्रयासमा क्षतिग्रस्त डाइभर्सनहरूको मर्मत कार्य सम्पन्न गरी यातायात सुचारु गरिएको हो। शनिबार रोशी खोलामा आएको भीषण बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्ती क्षेत्रका डाइभर्सनमा ठूलो क्षति पु¥याएको थियो। त्यस्तै, सिन्धुलीतर्फका आँपघारी र नेपालथोकमा रहेका डाइभर्सनहरू पनि बाढीले बगाएको थियो।
बाढीका कारण यातायात अवरुद्ध हुँदा सयौँ यात्रुहरू र मालवाहक सवारीसाधनहरू अलपत्र परेका थिए। हाल रोशी खोलाको किनार हुँदै निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
अत्यधिक वर्षाका कारण खोलामा पानीको बहाव बढ्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक विभागले आग्रह गरेको छ। थप जानकारी वा आपत्कालीन सहयोगका लागि यात्रुहरूलाई नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।