काठमाडौँ। मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङ का प्रधानाध्यापक डम्मरुप्रसाद दाहाल माथि कार्यकक्षमै हातपात भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सोही विद्यालयका शिक्षक सोमनाथ दाहाल र लेखकुमारी भट्टराई लाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने विषयमा विवाद उत्पन्न भएको थियो । सोही विवाद चर्किँदै जाँदा प्रधानाध्यापकको कार्यकक्षमै हातपात भएको हो ।
घटनाका क्रममा निर्णयसम्बन्धी कागजात समेत च्यातिएको बताइएको छ । यस घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ । घटनापछि पक्राउ परेका दुवै शिक्षकलाई इलाका प्रहरी कार्यालय चैनपुर को हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।