काठमाडौँ । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेप ले यस पटकको बजेट योजनाबद्ध र परिणाममुखी हुने बताएका छन् ।
मन्त्री लिंथेपका अनुसार बजेट निर्माणका क्रममा विज्ञहरूसँग निरन्तर छलफल भइरहेको छ र प्रदेशको आर्थिक अवस्था, विकासका प्राथमिकता तथा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर बजेटको ढाँचा तयार पारिँदैछ । यस पटक ‘आयोजना बैंक’मा समावेश भएका योजनाहरूलाई मात्र प्राथमिकता दिने स्पष्ट नीति अपनाइएको उनले बताए । विगतमा योजनाहरू जथाभाबी समावेश हुँदा कार्यान्वयनमा समस्या आएको अनुभवका आधारमा यस्तो निर्णय गरिएको हो ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको स्वीकार गर्दै मन्त्री लिंथेपले विभिन्न चुनौतीका कारण विकास आयोजनामा असर परेको उल्लेख गरेका छन् । प्रदेश सरकारले आगामी बजेटमार्फत आर्थिक अनुशासन कायम गर्दै विकासको गति तीव्र बनाउने लक्ष्य राखेको छ । योजना छनोटदेखि कार्यान्वयनसम्म स्पष्ट मापदण्ड अपनाइने भएकाले यस पटकको बजेट अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।