काठमाडौँ । सुनिता डंगोल ले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन् ।
थापाथलीस्थित बागमती नदी किनारा क्षेत्रको निरीक्षणका क्रममा उनले खाली गरिएका स्थानमा सुरक्षा र संरक्षणका लागि तारबार लगाउने काम अघि बढाउन आग्रह गरिन् । यसका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिइएको छ । महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत सरोकारवाला निकायसँग समन्वय गरी सार्वजनिक निर्माण विभागमार्फत तारबार लगाउने तयारी गरेको छ ।
यसअघि थापाथली क्षेत्रको अव्यवस्थित बस्ती हटाइ सार्वजनिक जग्गा खाली गराइएको थियो । वडा नं. ११ का अनुसार सो क्षेत्रमा रहेका घरटहरामध्ये थापाथलीतर्फका १३६ संरचना हटाइसकिएको छ भने बाँकी वंशीघाट क्षेत्रमा रहेका संरचना क्रमशः हटाइँदै छन् । महानगरका अनुसार बागमती नदी किनाराका विभिन्न स्थानमा रहेको अव्यवस्थित बस्ती हटाउने कार्य चरणबद्ध रूपमा जारी छ । यसक्रममा स्थानीयलाई सामान सार्न र स्थानान्तरणमा समेत सहयोग गरिएको बताइएको छ ।