धनगढी । सुदूरपश्चिम प्रदेशको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यसै अभियानको सुरुआतसँगै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सुदूरपश्चिमको उच्च हिमशिखर अपि हिमालको बेस क्याम्पतर्फ प्रस्थान गरेको छ।
सोमबार बिहान धनगढीबाट उत्साहजनक माहोलबीच उक्त टोली आफ्नो यात्रामा निस्किएको हो। करिब १० दिनसम्म चल्ने यो यात्रामा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ। यस अभियानमार्फत सुदूरपश्चिमको हिमाली क्षेत्रको सौन्दर्य, स्थानीय संस्कृति, जीवनशैली तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्य राखिएको छ।
अभियानका नेतृत्वकर्ता एवं धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा अपार पर्यटन सम्भावना हुँदाहुँदै पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै स्थानीय सरकारकै सक्रियतामा यस अभियानको थालनी गरिएको बताए। उनले भने, ‘हाम्रो भूगोल, हाम्रो पहिचान र हाम्रो सम्पदालाई हामी आफैंले चिनाउनुपर्छ भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो। यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न थप मद्दत पु¥याउने विश्वास लिएका छौँ।’
यात्राको क्रममा सहभागीहरूले विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने, सम्भावित पर्यटकीय गन्तव्यहरूको स्थलगत अवलोकन गर्ने तथा प्रचार सामग्रीहरू उत्पादन गर्ने योजना बनाएका छन्। यसका साथै, पर्यटन पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा समेत अभियानका माध्यमबाट सन्देश प्रवाह गरिने मेयर हमालले जानकारी दिए।
‘सुन्दर सुदूरपश्चिम’ अभियानका अभियन्तासमेत रहेका मेयर हमालको यो कदमले प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अपि हिमालको बेस क्याम्पसम्मको यो यात्राले सुदूरपश्चिमको पर्यटकीय भूगोललाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय सरोकारवालाहरू बताउँछन्।