काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन् । महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राख्दै खाली गराइएका स्थानमा तारबार लगाउने प्रक्रिया अघि बढाएको हो।
कार्यवाहक प्रमुख डंगोलले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सार्वजनिक निर्माण विभागका प्रमुख, महानगर प्रहरी बलका अधिकारीसहितको टोलीसँग आइतबार स्थलगत निरीक्षण गर्दै उक्त निर्देशन दिएकी हुन ।
यसैबीच, कार्यवाहक प्रमुख डंगोलले आइतबारै नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको समेत निरीक्षण गर्नुभएको छ। अव्यवस्थित बस्तीहरू हटाएपछि त्यहाँ बसोबास गर्ने वास्तविक भूमिहीन नागरिकहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने महानगरको योजना छ। सोही योजनाअनुसार कोलोनीको पूर्वाधार र अवस्थाबारे डंगोलले जानकारी लिएकी हुन ।
महानगरले काठमाडौँ उपत्यकाको सार्वजनिक जग्गा अतिक्रमण रोक्न र वास्तविक सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न दुईतर्फी रणनीति अपनाएको छ। एकातिर अतिक्रमण हटाउने र अर्कोतिर संरक्षणका लागि पूर्वाधार निर्माण गर्ने कार्यलाई सँगसँगै अघि बढाइएको हो।