म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेको छ। हाइड्रो भिलेज प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले निर्माणको चरणमा पहुँचमार्ग (सडक), विद्युतगृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको हो। आयोजनाले बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक निर्माण गरी कार्यालय स्थापना गरिसकेको छ भने विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माणको काम थालिएको आयोजना प्रमुख उत्तम पौडेलले जानकारी दिए।
आयोजना प्रमुख पौडेलका अनुसार, बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण सम्पन्न नभएसम्मका लागि म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पु¥याइएको छ। हाल सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले टेलरेस टनेल खन्न सुरु गरिसकेको छ भने विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी पनि तीव्रताका साथ अघि बढाएको छ।
‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनाको प्राविधिक संरचना निकै चुनौतीपूर्ण र बृहत् छ। म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट संकलित पानीलाई ११ दशमलव नौ मिटर अग्लो बालुवा थिग्राउने पोखरी (डिसेन्डर) मा पठाइनेछ। त्यहाँबाट ७१० मिटर लामो पाइपलाइनमार्फत तीन हजार छ सय मिटर लामो सुरुङमा पानी खसालिनेछ। पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनकलाइन्ट टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’ सहित तीन वटा टर्वाइन युनिट रहनेछन्। यसबाट सुक्खायाममा ११७.८२ र बर्खायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।
बगर र तातोपानीको बीचमा ६४० मिटर लामो सुरुङ खनेर भूमिगत विद्युत्गृह निर्माण गरिने र त्यहाँबाट १६ दशमलव पाँच किलोमिटर टाढा रहेको डाँडाखेत सबस्टेसनसम्म १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिने आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए।
आयोजनाको कुल लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जुन प्रतिमेगावाट २० करोडको दरले हिसाब गरिएको हो। आयोजना व्यवस्थापक प्रमेश थापाका अनुसार, सिभिल ठेकेदार गत पुस महिनादेखि नै परिचालन भइसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया जारी छ। विसं २०८४ चैत महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजनाका लागि विस्फोटक पदार्थको सुरक्षा आवश्यक पर्ने भएकाले केही दिनभित्रै भैँसीखर्कमा नेपाली सेनाको क्याम्प (आधार शिविर) राखेर मुख्य सुरुङ खन्ने काम तीव्र पारिने तयारी छ।