काठमाडौँ । सर्लाही को लालबन्दी नगरपालिका–१५ पिडखोल्सी मा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आइतबार साँझ करिब ५ बजे स्थानीय ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) आफ्नै मकैबारीमा पुगेका बेला जंगली बँदेलले क्षति पुर्याएको देखेपछि त्यसलाई लखेटेका थिए ।
सोही क्रममा बँदेलले एक्कासि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते थिङलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी साँझ ७ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी चौकी परवानीपुर बाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दी बाट एसओसीओसहित सात जनाको टोली खटाएको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि मलंगवा प्रादेशिक अस्पताल मा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।