काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालले कोशी प्रदेशको तराई र पहाडी भूभागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा वर्षा भइरहेको जानकारी दिए ।
पश्चिमबाट गण्डकी प्रदेशतिर फेरि नयाँ पानी पार्ने प्रणाली विकास हुँदै गएको उनको भनाइ छ । “कोशी प्रदेशको तराई भूभाग र पहाडी भूभागतिर वर्षा छ भने बागमती प्रदेशको विशेषगरी पहाडी भूभागमा छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पनि पहाडी भूभागमा वर्षा भएको छ,” उनले भने ।
काठमाडौँ उपत्यका अन्तर्गत चन्द्रागिरि, नयाँसडक, बबरमहल, नैकाप, गोदावरी लगायतका क्षेत्रमा वर्षा भएको छ । तत्कालै मौसम सुधारको सम्भावना नरहेको उनले बताए ।