काठमाडौँ । बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन डोजर परिचालन गरिएको छ। बिहान १० बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम भइरहेको छ।
बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको सरकारी जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको हो डोजर सञ्चालन हुने सूचना पाएपछि स्थानीय व्यवसायीहरूले बिहानैदेखि आफ्ना सामान सार्ने र संरचना खाली गर्ने काम गरेका थिए। सो क्षेत्रमा वर्षौंदेखि विभिन्न टहरा, पसल तथा संघसंस्थाका भवन निर्माण गरी सरकारी जग्गा उपयोग हुँदै आएको बताइएको छ। उपमहानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको जनाएको छ। लामो समयदेखि अतिक्रमित रहेको अदालतको जग्गा यसअघि पनि खाली गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन। यसपटक भने डोजर परिचालनसँगै अभियान तीव्र रूपमा अघि बढाइएको छ।