काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारलाई सशक्त बनाउन संघीय सरकारले प्रशासकीय प्रमुख पठाए पनि व्यवहारमा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका कारण स्थानीय तह कमजोर बनेको बताएका छन्।
न्यूज एक्सप्रेस मिडियाद्वारा आयोजित ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई आत्मसात गर्दै संविधानले तीन तहको सरकारको व्यवस्था गरेको स्मरण गरे। उनका अनुसार संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न र जवाफदेही बनाउने स्पष्ट व्यवस्था गरेको छ। धारा २१४ र २२१ मा स्थानीय कार्यपालिकाको संरचना, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको उनले बताए।
पराजुलीले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाए पनि व्यवहारमा अपेक्षित सुधार हुन नसकेको टिप्पणी गरे। उनका अनुसार विगतको अभ्यासमा प्रशासकीय प्रमुखको नियुक्ति राजनीतिक प्रभावमा आधारित हुँदा सुशासन कमजोर बनेको छ। उनले स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संघीयताको मर्मअनुसार सहकार्य, समन्वय र सहअस्तित्वलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।