काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले सहभागिताविनाको लोकतन्त्र केवल औपचारिक हुने उल्लेख गरे। स्थानीय सरकार बलियो नभएसम्म लोकतन्त्र प्रभावकारी नहुने भन्दै उनले जनसहभागिता नै लोकतन्त्रको आधार भएको बताए। उनका अनुसार लोकतन्त्र केवल मतदानमा सीमित नभई त्यसको परिणाम जनताले प्रत्यक्ष अनुभव गर्न पाउनुपर्ने हुन्छ। उनले लोकतन्त्रलाई व्यवहारिक बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे।
चालिसेले संघीयताविरुद्ध भइरहेका नकारात्मक टिप्पणीप्रति पनि आपत्ति जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको धारणा राखे। गलत अभ्यास र व्यवस्थापनका कारण संघीयतामाथि दोष लगाउनु उचित नहुने उनको भनाइ छ। त्यस्तै, सञ्चारकर्मी तथा एआई अध्येता जीवन भण्डारीले देशप्रति सकारात्मक सोच राख्दै सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले निराशा र आलोचनाभन्दा समाधानमुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। भण्डारीले देश विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भइरहेका कामको समीक्षा र मूल्यांकन आवश्यक रहेको बताए।