काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बसेका संघ–संस्थाहरूविरुद्ध कडा कदम चालेको छ। त्रिविले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ वटा विभिन्न संघ, संस्था र संगठनलाई ३५ दिनभित्र आफ्नो जग्गा खाली गर्न औपचारिक अल्टिमेटम दिएको छ।
अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णय कार्यान्वयन गर्दै त्रिविले गत वैशाख ४ गते नै ३५ दिने सूचना जारी गरेको थियो। सोही निर्णय बमोजिम हाल १८ वटा संस्थालाई पत्राचार गरिएको त्रिविका एक अधिकारीले जानकारी दिए।
त्रिविको जग्गा प्रयोग गरिरहेका संस्थाहरूमध्ये नेपाल क्रिकेट संघ (क्यान) को सम्झौता यही वैशाख मसान्तमा सकिँदै छ। सम्झौता सकिन लागेकै समयमा त्रिविले पत्राचार गरेपछि अब क्रिकेट मैदानको भविष्यलाई लिएर चासो बढेको छ। नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले अल्टिमेटमको पत्र प्राप्त भएको पुष्टि गर्दै यस विषयमा थप छलफल आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।
महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित ‘खोजबिन समिति’ को प्रतिवेदन अनुसार त्रिविको कीर्तिपुर परिसरभित्र र बाहिर गरी करिब १ हजार रोपनी जग्गा अतिक्रमणमा परेको छ। प्रतिवेदनले लेबोरेटरी माध्यमिक विद्यालय, खानेपानी बोर्ड, नेपाल प्राध्यापक संघ, कीर्तिपुर नगरपालिकाले बनाएका सार्वजनिक शौचालय र बसपार्कसमेत त्रिविकै जग्गामा रहेको औँल्याएको छ।
धेरैजसो संस्थाहरूले त्रिविसँग कुनै पनि औपचारिक स्वीकृति नलिई संरचना निर्माण गरी उपभोग गरिरहेका छन् भने कतिपयले बुझाउनुपर्ने भाडासमेत नबुझाएको पाइएको छ।
समितिको प्रतिवेदनले विश्वविद्यालयको सम्पत्ति संरक्षणमा पदाधिकारीहरूले तदारुकता नदेखाउँदा विडम्बनापूर्ण स्थिति सिर्जना भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा भनिएको छ, “कतिपय अवस्थामा भूमाफिया र उच्च राजनीतिक तहको मिलेमतोमा विश्वविद्यालयको जग्गा दुरुपयोग भएको छ। राजनीतिक नेतृत्वको आडमा अतिक्रमणकारीहरूलाई नै संरक्षण दिने गरिएको छ।“
त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले सबै संस्थालाई एकैसाथ पत्र काटेर जग्गा फिर्ता प्रक्रिया अगाडि बढाएसँगै अब यी संस्थाहरूले ३५ दिनभित्र कसरी प्रतिक्रिया दिन्छन्, त्यो हेर्न बाँकी छ।