काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका अव्यवस्थित बस्ती खाली गराउने क्रममा त्यहाँ रहेका चौपायाहरूको सुरक्षित व्यवस्थापन सुरु गरेको छ। अभियानका क्रममा हालसम्म ४ वटा चौपायालाई सुरक्षित स्थान (गौशाला) मा पठाइएको छ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले बस्ती खाली गराउने क्रममा फेला पर्ने वा बेवारिसे अवस्थामा रहेका चौपायाहरूलाई महानगरको ‘काञ्जी हाउस’ मा राखेर व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो। सडक वा सार्वजनिक स्थलमा अलपत्र परेका पशुहरूको उचित हेरचाह र संरक्षणका लागि महानगरले यो कदम चालेको हो।
यस कार्यमा काठमाडौँ महानगरपालिकालाई विभिन्न पशु कल्याणकारी संस्थाहरूले साथ दिइरहेका छन्। ‘स्नेहाज केयर लगायतका पशु अधिकार तथा कल्याणमा क्रियाशील संघ–संस्थाहरूले चौपायाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
अव्यवस्थित बस्ती हटाउने कार्यलाई केवल भौतिक संरचना खाली गर्ने कामको रूपमा मात्र नहेरी, त्यहाँ रहेका प्राणीहरूको जीवन रक्षा गर्नेतर्फ पनि ध्यान केन्द्रित गरिएको सरोकारवालाहरू बताउँछन्। महानगरपालिका र विभिन्न पशु अधिकारवादी संस्थाहरूको यो सहकार्यले सडकका बेवारिसे जनावरहरूको व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।


