काभ्रेपलाञ्चोक । शनिबार परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत विभिन्न स्थानमा डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
राजमार्गको रोशी खोला क्षेत्रमा यातायातका साधन रोकिएपछि यात्रुहरू बिचल्लीमा परेका हुन्। यस कठिन परिस्थितिमा स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले हातेमालो गर्दै अलपत्र यात्रुहरूलाई खाद्यान्न तथा पानी वितरण गरेका छन्।
रोशी खोला क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई लक्षित गरी स्थानीय होटल व्यवसायी तथा इलाका प्रहरी कार्यालय, मङ्गलटारको संयुक्त प्रयासमा फलफूल, चाउचाउ र खानेपानी वितरण गरिएको छ। भोक र प्यासले छटपटिएका यात्रुहरूका लागि यो सानो सहयोग निकै राहतपूर्ण बनेको छ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक सञ्चालनमा ल्याउन तत्कालै सम्भव देखिएको छैन। “शनिबार दिउँसो ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। क्षतिको प्रकृति हेर्दा मर्मतका लागि समय लाग्ने देखिएको छ, सम्भवतः आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुन सक्छ,“ उनले जानकारी दिए।
राजमार्गको मर्मत कार्य भइरहेको भए पनि निरन्तरको वर्षाले काममा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।