काठमाडौँ । सरकारले उपत्यकाका विभिन्न नदी किनारका अव्यवस्थित बस्ती हटाएसँगै त्यहाँ बसोबास गर्दै आएका भूमिहीन तथा सुकुमवासीहरूको व्यवस्थापन प्रक्रिया सुरु गरेको छ। वास्तविक सुकुमवासीको पहिचानका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेस्क स्थापना गरी स्क्रिनिङ (पहिचान) प्रक्रिया अघि बढाएको हो।
शनिबार बिहानबाट सुरु गरिएको बस्ती खाली गराउने अभियानसँगै सरकारले प्रभावितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा पनि उपलब्ध गराएको छ। काठमाडौँ महानगरपालिकाको समन्वयमा परिचालन गरिएको स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई शारीरिक जाँच र मनोसामाजिक परामर्श दिइरहेको काठमडौँ महानगर कार्यपालिकाको कार्यालयले जनाएको छ।
रंगशाला पुगेका सुकुमवासीहरूमा देखिएका स्वास्थ्य समस्याहरूलाई मध्यनजर गर्दै टोलीले उपचार र परामर्श प्रदान गरेको हो। हालसम्म उपलब्ध तथ्याङ्कअनुसार रक्तचापसम्बन्धी समस्या भएका ४ पुरुष र २ महिला, ढाड तथा जोर्नी दुखाइका २ पुरुष, टाउको दुखाइका १८ पुरुष र ६ महिला, गर्भवती २ जना, चोटपटक १ जना, अन्य स्वास्थ्य समस्या भएका १२ जनाको चेकअप भएको जनाएको छ ।
शारीरिक जाँचका अतिरिक्त, सुकुमवासी बस्तीमा बस्दै आएका व्यक्तिहरूका लागि मनोसामाजिक परामर्श पनि उपलब्ध गराइएको छ। परामर्शका क्रममा बहुविवाह, एकल महिला (पिता नभएका), विद्यालय जाने उमेरका बालबालिका र रोजगारीमा रहेका अभिभावकहरूले आफ्नो मानसिक समस्या राखेका छन्।
स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार, विशेषगरी परिवारको भविष्य, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने र रोजगारीको अनिश्चितताले गर्दा उनीहरूमा गहिरो चिन्ता देखिएको छ।