काठमाडौँ । महानगरपालिकाले अतिक्रमण गरी निर्माण गरिएका तीन वटा बस्ती हटाएको छ। शनिबार महानगरपालिका–११ थापाथलीस्थित वाग्मती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र र वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती खाली गरिएको हो।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी हटाइएको हो। थापाथली क्षेत्रमा संरचना कम भएकाले काम छिटो सकिएको थियो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घर बढी भएकाले रातिसम्म भत्काउने काम चलेको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले प्रभावित बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गराएर त्यसपछि संरचना हटाएको थियो। बस्ती हटाइएपछि भत्काइएका सामग्रीहरू सोही स्थानमै छरिएको हुँदा आवागमनमा समस्या देखिएको स्थानीयले बताएका छन्। महानगरले ती सामग्री हटाउने र क्षेत्र सफा गर्ने काम क्रमशः अघि बढाइने जनाएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार थापाथली, गैरीगाउँ, गोठाटार, शान्तिनगर र मनोहरा क्षेत्रमा गरी कुल ८७१ परिवार बसोबास गर्दै आएका थिए। यसैबीच, मनोहरा खोलाको किनारमा बस्ती हटाउने क्रममा स्थानीयले अवरोध गर्दा केही झडपसमेत भएको थियो। सो क्रममा ढुंगा, इँटा र बोतल प्रहार हुँदा २२ सुरक्षाकर्मी घाइते भएका थिए।