रुकुमपूर्व । हावाहुरीसँगै परेको असिनापानीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ को खण्डमा सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन्।
लगातारको वर्षासँगै आएको पहिरो र लेदोले सडक ढाकेपछि यातायात सेवा ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार काठमाडौँबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस र ६ वटा मालवाहक ट्रक बाटोमै रोकिएका छन्।
सडक अवरुद्ध भएपछि यात्रुहरू बिचल्लीमा परेका छन्। स्थानीय प्रशासनले सडक खुलाउनका लागि पहल सुरु गरेको छ। अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाको समन्वयमा जेसीबी परिचालन गरिए पनि निरन्तर रूपमा ढुङ्गा र लेदो खस्ने क्रम नरोकिएकाले काममा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
यसैबीच, हावाहुरी र वर्षाले स्थानीयहरूको घर र खेतमा लगाइएको गहुँबालीमा पनि व्यापक क्षति पु¥याएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।