धनगढी । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै ललितपुरले धनगढीबाट धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन्। धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
मेयर महर्जन धनगढीबाट सोमबार परशुराममा हुने कार्यक्रममा सहभागी हुनेछन्। धनगढीले नेपालमै पहिलो पटक सुरु गरिएको यस तालिमको उद्घाटनका क्रममा मेयर महर्जनले धनगढीको ६ लेन सडक, त्यहाँ जडान गरिएका स्मार्ट लाइट र सडकको हरियाली देखेर आफू निकै प्रभावित भएको बताए।
'म त धनगढीको बत्ती बलेको देखेर छक्क परेँ, लेभल मिलेको बत्ती देखेर म एकदम खुसी छु, धनगढीले गोपाल हमाल जस्तो काम गर्ने मेयर पाउनु गर्वको कुरा हो' उनले भने।
मेयर महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको सानो भूगोलको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे। कार्यक्रम उनले आफू र धनगढीका मेयर गोपाल हमालबिच चार वर्षअघि मलेसियामा भेट हुँदा स्मार्ट सिटीको अवधारणाबारे छलफल भएको स्मरण गर्दै अहिले धनगढीले त्यसलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरे।