काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्वासी बस्ती पनि हटाइएको छ ।
खोला किनार अतिक्रमण गरी निर्मित संरचना र बस्ती भत्काउने सरकारको अभियानअनुसार शनिबार (वैशाख १२) गैरीगाउँको सुकुम्वासी बस्ती पनि डोजर लगाएर हटाइएको हो ।
थापाथलीस्थित सुकुम्वासी बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना बनाइएको पाइएको छ । बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । सम्भावित अवरोध रोक्न सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ ।