तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, शेराटारमा शुक्रबार भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेपछि घाइते भएका २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
पोखराबाट भैरहवाका लागि छुटेको उक्त बसमा ३२ जना यात्रु सवार थिए। सो बस शुक्रबार दिउँसो शुक्लागण्डकी नगरपालिका–५ को शेराटारस्थित सडकमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचारको क्रममा २ जनाको मृत्यु भएको उपचारमा संलग्न अस्पतालले पुष्टि गरेको छ। मृतकहरूको पहिचान खुलाउने कार्य भइरहेको छ।
दुर्घटनालगत्तै उद्धार गरिएका यात्रुहरूमध्ये ३१ जनालाई बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो। गम्भीर घाइते २७ जनालाई थप उपचारका लागि पोखरा र मणिपाल अस्पताल रिफर गरिएको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
घटनास्थलबाट घाइतेहरूलाई एम्बुलेन्स, शवबाहन, ट्याक्सी, माइक्रोबस र नजिकै उपलब्ध स्कुल बसको प्रयोग गरी अस्पतालसम्म पु¥याइएको थियो। केही घाइतेहरूको उपचार अझै पनि बेलचौतारास्थित उपचार केन्द्रमा भइरहेको छ भने केही डिस्चार्ज भइसकेको बताइएको छ।
स्थानीय प्रशासन र प्रहरीको सक्रियतामा उद्धार कार्य तत्कालै सम्पन्न गरिएको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।