काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो क्षेत्रको पछिल्लो घटनाक्रमलाई सरकारले नजिकबाट नियालीरहेको बताएका छन्।
प्रवक्ता क्षेत्रीका अनुसार तेहरानमा हाल १० जना नेपाली नागरिकहरू छन्। तीमध्ये २ जना नेपाल फर्कने तयारीमा रहेका छन् भने बाँकी ८ जनाले तत्काल फर्कन नचाहेको जानकारी मन्त्रालयलाई प्राप्त भएको छ।
त्यसैगरी, द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झासहितका नेपालीहरू संलग्न रहेको पानी जहाजको मुद्दाबारे पनि मन्त्रालयले अपडेट दिएको छ। सो मुद्दामा स्थानीय अदालतबाट एक चरणको फैसला भई ४ जना रिहा भइसकेका छन् भने झासहित बाँकीको रिहाइको प्रक्रिया अगाडि बढिसकेको छ। यद्यपि, इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीका कारण केही कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनीहरूको रिहाइमा केही समय लाग्न सक्ने मन्त्रालयले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिएका छन्। उनीहरूको अवस्था र थप कानुनी प्रक्रियाबारे मन्त्रालयले काम गरिरहेको छ।
मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्यलाई पनि तीव्रता दिएको छ। थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासको सक्रिय पहलमा हालसम्म त्यहाँबाट ६ सय १२ जना नेपालीहरूको उद्धार गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन्।
सरकारले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।