सुर्खेत । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको नवनिर्मित शैक्षिक तथा प्रशासनिक भवन र कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा निर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरीका सन्तति तथा स्थानीयवासीका बालबालिकालाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको बताए उनले भने, “यो भवन केवल भौतिक संरचना मात्र होइन, यो बालबालिकाहरूको सुनौलो भविष्य नियाल्ने ढोका हो। यसले उनीहरूको आदर्श चरित्र निर्माण, सकारात्मक सोच र असल जीवनको मार्गनिर्देशन गर्ने थलोको रूपमा काम गर्नेछ।“
आइजिपि कार्कीले प्रहरी कर्मचारीका सन्ततिले गुणस्तरीय शिक्षा पाउँदा प्रहरीको कार्यक्षमता र उत्प्रेरणामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। साथै, विद्यालयको निरन्तर प्रगतिका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका थिए ।
भवन निर्माण कार्यमा योगदान पु¥याउनेहरूलाई प्रशंसापत्र प्रदान गरिएको यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव बहादुर बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए । नेपाल पुलिस स्कुल भवन निर्माणका ११ करोड २४ लाख ८४ हजार ५ सय ८८ रूपैयाँ ४८ पैसा (विद्यालयको आन्तरिक स्रोत)बाट खर्च गरिएको जनाएको छ । त्यस्तै, सिनियर प्रहरी अधिकृत निवास भवन निर्माणमा ५ करोड ४४ लाख ८३ हजार ६ सय ८९ रूपैयाँ १३ पैसा (नेपाल सरकारको नियमित बजेट) भवन निर्माण गरिएको नेपाल प्रहरीले जनाएको छ ।
.