काठमाडौँ । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरेका हुन्।
उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले कर्णालीको कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि संस्थागत प्रयास थालिएको जानकारी दिए। उनले कर्णालीका प्राकृतिक र सांस्कृतिक सम्पदाको पहिचान गरी प्रभावकारी प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले कर्णालीमा चलचित्र छायाङ्कनका लागि प्रशस्त सम्भावना भए पनि भौगोलिक दुर्गमताका कारण निर्माता–निर्देशक आकर्षित हुन नसकेको बताए। उनले छायाङ्कनलाई प्रोत्साहन गर्न सहुलियतको व्यवस्था आवश्यक रहेको उल्लेख गरे।
महोत्सवअन्तर्गत विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। ‘कर्णालीको पर्यटन सम्भावना र राज्यको दायित्व’ विषयमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष घनबहादुर रावतलगायतले धारणा राखेका थिए। आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्नु हो। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णालीलाई चलचित्र र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीका मौलिक कथा, भाषा, भेषभूषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। साथै चलचित्रमार्फत जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने योजना पनि रहेको उनले जानकारी दिए। महोत्सवको दोस्रो दिन कार्यक्रम सल्यानको कुपिण्डे दहमा आयोजना गरिनेछ, जहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। साथै ‘घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य’ सूचीमा परेको उक्त स्थानको प्रचार–प्रसारमा पनि महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, चलचित्रकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ। साथै स्थानीय कला, संस्कृति र परम्परागत प्रस्तुति समेत कार्यक्रमको आकर्षण रहने आयोजकले जनाएको छ।