काठमाडौँ । सरकारले इजरायलको गाजा क्षेत्रमा भएको घटनामा परी ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार, गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको द्वन्द्वका क्रममा जोशीको मृत्यु भएको थियो। सरकारले मानवीय आधारमा उनको परिवारलाई यो सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि मन्त्रिपरिषद्का केही मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्ने गरिएकोमा, हाल सरकारले मन्त्रिपरिषद् बैठकका सबै महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न थालेको छ। सोही नीतिअनुसार आज सरकारले यससम्बन्धी निर्णय सार्वजनिक गरेको हो।
इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए। लामो समयसम्म जोशीको अवस्था अज्ञात रहेकोमा पछि उनको मृत्यु भएको पुष्टि भएको थियो। जोशीको परिवारलाई दिइने यो सहयोग रकमले केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।