सर्लाही । सर्लाही प्रशासनले जिल्लाको सदरमुकाम मलङ्गवामा लामो समयदेखि अवैध रूपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ। स्वास्थ्य सेवाको नाममा भइरहेको चरम बेथिति र सर्वसाधारणको जनगुनासोलाई सम्बोधन गर्दै प्रशासनले गरेको ‘अकस्मात’ अनुगमनका क्रममा ती स्वास्थ्य संस्था शिल गरिएको हो।
बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, मलङ्गवा नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय (वीरगन्ज) को संयुक्त टोलीले मलङ्गवा बजार क्षेत्रमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अधिकांश स्वास्थ्य संस्था दर्ता प्रक्रिया पूरा नगरी वा नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए। प्रशासनको कार्यालयको टोलीले जिल्लाका ११ ओटा स्वास्थ्य संस्थामा ताला लगाएको हो । सर्लाही पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक, निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक आदिमा ताला लगाएको हो ।
सहायक प्रजिअ घिमिरेका अनुसार, शिल गरिएकामध्ये ४ वटा स्वास्थ्य संस्था पूर्णतः दर्ताविहीन थिए। त्यस्तै, ७ वटा स्वास्थ्य संस्थाका सञ्चालकहरू अनुगमन टोलीको सुइँको पाउनासाथ बिरामी र स्वास्थ्य उपकरण छोडेर फरार भएका थिए। प्रशासनले बिहानदेखि बेलुकासम्म कुल १६ वटा स्वास्थ्य संस्थाको छानबिन गरेको थियो।
अनुगमनमा परेका मध्ये अन्य ५ वटा स्वास्थ्य संस्थालाई भने सामान्य त्रुटि (नवीकरण वा कागजी प्रक्रिया) का आधारमा एक साताभित्र सबै कानुनी दायरा पूरा गर्न कडा निर्देशन दिइएको छ।
मलङ्गवामा स्वास्थ्य संस्थाको नाममा भइरहेको अवैध धन्दा पुरानै समस्या हो। यसअघि २०८१ फागुन महिनामा तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा भएको अनुगमनका क्रममा १९ मध्ये १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो। पटक–पटक कारबाही हुँदा पनि अवैध संस्थाहरू पुनः सञ्चालनमा आउनुले नियमनकारी निकायको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
अवैध क्लिनिकहरूले दक्ष स्वास्थ्यकर्मी वा डाक्टरको सट्टा सामान्य ज्ञान नभएका व्यक्तिहरूलाई राखेर बिरामीको उपचार गर्ने गरेका छन्। यस्ता संस्थाबाट बिरामीलाई अनावश्यक र महँगो औषधि सिफारिस गर्ने, चर्को शुल्क असुल्ने र स्वास्थ्य मापदण्ड पालना नगरिँदा संक्रमणको जोखिम उच्च हुने समस्या देखिएको छ। प्रशासनको यो पछिल्लो कदमले मलङ्गवाको स्वास्थ्य सेवा क्षेत्रमा केही सुधार हुने अपेक्षा गरिएको छ।