काठमाडौं। सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) पक्राउ परेका छन्। बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका परिश्रमीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरेका छन्। प्रहरीका अनुसार परिश्रमी लामो समयदेखि बैंकिङ कसुरको मुद्दामा फरार सूचीमा थिए।
“बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेका छौं,“ एसपी भट्टराईले जानकारी दिए।
सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरिरहेको वर्तमान परिस्थितिका बीच परिश्रमीको पक्राउलाई विशेष चासो र विभिन्न कोणबाट हेरिएको छ। उनी लामो समयदेखि सुकुमवासीहरूको हकहित र आन्दोलनको नेतृत्वमा सक्रिय रहँदै आएका थिए।
परिश्रमी यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका थिए। विशेष गरी सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको र अवरोध सिर्जना गरेको आरोप लागेको थियो। सो समयमा उनीविरुद्ध प्रहरीले विभिन्न अभियोगमा मुद्दा चलाएको थियो।
अहिले पक्राउ परेका परिश्रमीमाथि बैंकिङ कसुरको अनुसन्धानसँगै अन्य पक्षबारे समेत प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।