काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्री प्रकाशन–प्रसारणका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा पछिल्ला दिनहरूमा तथ्यहीन, अपुष्ट र भ्रामक सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ। त्यस्तै, केही सञ्चारकर्मी तथा माध्यमहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका सामग्री प्रकाशन गर्ने गरेको गुनासो पनि प्राप्त भएको काउन्सिलले जनाएको छ।
सामाजिक सञ्जालमा प्रमाणबिना सामग्री सेयर गर्ने, अतिरञ्जित भिडियो (रिल) बनाउने प्रवृत्ति पनि बढ्दै गएको काउन्सिलको भनाइ छ। काउन्सिलका अनुसार विभिन्न जिल्लामा सञ्चारकर्मीहरूले सरकारी कार्यालयमा अनुमति बिना प्रवेश गरी भिडियो खिच्ने, प्रश्न सोध्ने र पछि शुल्क दाबी गर्ने जस्ता गतिविधिका गुनासा समेत आएका छन्। यस्ता क्रियाकलाप पत्रकारिताको पेसागत आचरणविपरीत भएको भन्दै काउन्सिलले तत्काल रोक्न आग्रह गरेको छ। साथै, मिथ्या सूचना र चरित्र हत्या गर्ने गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।