काडमाडौँ । कर्णाली प्रदेशमा सडक र पुल निर्माण तथा स्तरोन्नतिका दर्जनौं आयोजना वर्षौंदेखि अलपत्र परेका छन्। निर्माण कम्पनीको ढिलासुस्ती, डिजाइन स्वीकृतिमा ढिलाइ र जग्गा विवादका कारण महत्वपूर्ण पूर्वाधार योजनाहरू समयमै सम्पन्न हुन सकेका छैनन्।
कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरअन्तर्गतका विभिन्न स्थानमा निर्माण भइरहेका पुलहरूको काम रोकिएको छ। कर्णाली करिडोर मात्रका कालीकोट, बाजुरा र हुम्ला क्षेत्रमा नौवटा पुल निर्माण अलपत्र अवस्थामा छन्। हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित दोजाममा कर्णाली नदीमाथि निर्माणाधीन स्टिल ट्रस पुल पनि समयमै सम्पन्न हुन सकेको छैन। करिब ११ करोड रुपैयाँ लागतको उक्त पुलमा हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ। योजनाका अधिकारीका अनुसार केही पुलहरूको डिजाइन स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको छ भने कतिपय ठेक्का सम्झौता नै समाप्त भइसकेका छन्।
बाजुरा र हुम्ला क्षेत्रमा जिम्मा लिइएका केही पुलमध्ये केहीको मात्रै निर्माण सुरु भएको छ। त्यसैगरी, नाग्म–गमगढी सडकअन्तर्गतका केही स्थानमा जग्गा विवादका कारण पुल निर्माण रोकिएको छ। रोकायावाडा, गुठिज्युला र अन्य स्थानमा रहेका पुलहरू पनि लामो समयदेखि अलपत्र अवस्थामा छन्। जुम्ला, कालिकोट र मुगु जोड्ने विभिन्न सडकखण्डका ठेक्का सम्झौताहरू समेत तोडिएका छन्। कर्णाली राजमार्गका करिब १० वटा ठेक्का कम्पनी कालोसूचीमा सिफारिस गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार केही ठेक्का २०७४र७५ देखि सुरु भए पनि काम सम्पन्न हुन सकेको छैन। झण्डै १६ करोड रुपैयाँ बराबरका ठेक्काहरू रद्द गरिएका छन्। समग्रमा कर्णालीका सडक र पुल पूर्वाधार निर्माण योजनाहरू समन्वयको अभाव, प्रशासनिक ढिलाइ र ठेकेदारको लापरवाहीका कारण लामो समयदेखि अलपत्र परिरहेको देखिएको छ।