काठमाडौँ । घरमै हुलाकी आएर राहदानी (पासपोर्ट) बुझाएपछि कालिकोटका स्थानीय बासिन्दामा आश्चर्यसँगै खुशी छाएको छ। नरहरीनाथ–१, कोटवाडाका गणेश बिष्टले हुलाकी घरमै आइपुग्दा सुरुमा अन्योल महसुस गरे पनि छोरीको राहदानी लिएर आएको थाहा पाएपछि निकै सहज अनुभव भएको बताए।
उनका अनुसार राहदानी तयार भएको जानकारी पाएको धेरै समय बितिसकेको थियो। तर लिनका लागि सम्बन्धित व्यक्ति आफैं उपस्थित हुनुपर्ने भएकाले सुर्खेतमा रहेकी छोरीलाई बोलाउन कठिन थियो। “राहदानी लिन मात्रै छोरीलाई बोलाउँदा समय र खर्च दुवै लाग्थ्यो, तर अहिले सरकारले घरमै सेवा दिएपछि निकै सजिलो भएको छ,” उनले भने। यसबाट कम्तीमा तीन दिनको समय र करिब १५ हजार रुपैयाँ खर्च जोगिएको उनको भनाइ छ। सरकारले घरमै राहदानी पु¥याउने सेवा सुरु गरेपछि गणेश बिष्टजस्तै धेरै नागरिक लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका बासिन्दाले सदरमुकामसम्म पुग्नुपर्ने झन्झट र खर्चबाट मुक्ति पाएका छन्। जिल्ला प्रशासन कार्यालय कालिकोटले वैशाख ५ गतेदेखि सबै वडामा राहदानी वितरण सुरु गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार जिल्ला हुलाक कार्यालयको सहकार्यमा सेवाग्राहीकै घरदैलोमा राहदानी पुर्याउने व्यवस्था मिलाइएको हो। यो सेवा सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो। जिल्ला हुलाक कार्यालय कालिकोटका निमित्त प्रमुख टोपबहादुर शाहीले सबै स्थानीय तहमा राहदानी पुर्याउने काम भइरहेको जानकारी दिए। यससँगै नागरिकले सरकारी कार्यालय धाउनुपर्ने बाध्यता घट्दै गएको छ। सरकारले आगामी १०० दिनभित्र राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र ९लाइसेन्स० जस्ता आवश्यक कागजात पनि घरमै पुर्याउने लक्ष्य लिएको छ। हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना अनुसार सेवा प्रवाहलाई छिटो, सरल र बिचौलियामुक्त बनाइने बताइएको छ।