काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया, बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले आज यादवविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगले यादवको सरकारी सेवामा प्रवेश गरेको मिति २०४७÷०३÷३१ देखि २०८०÷०९÷२९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो । जाँच अवधिमा यादव र उनको परिवारले विभिन्न स्रोतबाट जम्मा ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा मात्र वैध आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च र बैंक मौज्दतलगायत शीर्षकमा उनको ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च तथा लगानी देखिएको छ ।
यादवले आफ्नो वैध आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च गरेको देखिएको छ । यो स्रोत नखुलेको रकम बराबरको सम्पत्ति उनले गैरकानुनी रूपमा आर्जन गरेको आयोगको दाबी छ ।
यादवले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति उनकी श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको पाइएको छ । सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै निर्मला कुमारीलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो जफत, कैद र जरिवानाको मागदाबी गरिएको छ । यादवले सम्पत्ति लुकाउन झुटा विवरण पेस गरेको समेत पुष्टि भएकाले सोही बमोजिम थप कारबाहीको माग गरिएको छ ।