काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ कार्ययोजना अघि बढाएको छ। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले मनसुन पूर्व नै पूर्वतयारी र कार्ययोजना तयार पारिने जानकारी गराएका हुन्।
प्राधिकरणले देशभरका जिल्लाहरूबाट विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक विवरण संकलन गरिरहेको छ। जिल्लागत रूपमा उपलब्ध कोष, सामग्री र विगतका प्राकृतिक प्रकोपपछिका गतिविधिहरूको विश्लेषण गरी प्रभावकारी योजना बनाइने भट्टले बताए। उनले वैशाख १५ गतेभित्र सबै जिल्लाबाट विवरण प्राप्त भएपछि केही दिनमै यस वर्षको विपद् जोखिम न्यूनीकरण योजना सार्वजनिक गरिने जानकारी दिए।
बैठकमा समितिका सदस्यहरूले मनसुन सुरु हुनुअघि नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सबै पूर्वतयारी र प्रतिकार्यका लागि जुट्न प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। विशेष गरी विपद्को समयमा नागरिकलाई छिटो राहत उपलब्ध गराउने विषयमा समितिले जोड दिएको छ।