चितवन । चितवन प्रहरीले भारतीय नम्बर प्लेटको गाडीमा लुकाएर लैजान लागिएको झण्डै एक क्विन्टल गाँजा बरामद गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९, चौकी डाँडाबाट प्रहरीले ९६ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार बिहान करिब १ः३० बजे बीआर ०१ पीई ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो। चेकजाँचका क्रममा गाडीको सिट मुनि ’फल्स बटम’ (लुकाउनका लागि बनाइएको विशेष ठाउँ) फेला परेको र सो भित्र लुकाएर राखिएको ३० प्याकेट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नम्बर ३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तान पक्राउ परेका छन्। बरामद गरिएको ९५ किलो ९६५ ग्राम गाँजाको बजार मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए।
प्रहरीले गाँजा र ओसारपसारमा प्रयोग गरिएको भारतीय पिकअप गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।