प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४, टाकुरामा भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी २१ जना घाइते भएका छन्।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप बिहीबार सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको हो। दुर्घटनामा मृत्यु भएका बालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये ५ जना बालबालिका रहेका छन्। घाइतेहरूलाई प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचारका लागि लगिएको थियो। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ। घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।