काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर फेरि उच्च हुँदै ‘धेरै अस्वस्थ’ श्रेणीमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार मंगलबार करिब ९२ रहेको वायु गुणस्तर सूचकाङ्क बिहीबार बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ तहमा पर्छ। यसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने चेतावनी दिइएको छ।
वातावरण विभागका अनुसार वर्षा नहुनु, सुक्खा मौसम, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलो जस्ता कारणले वायु प्रदूषण बढिरहेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नभएकाले अवस्था अझै बिग्रन सक्ने देखिन्छ। विशेषज्ञहरूले यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाव दिइएको छ।