काठमाडौँ । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी गरिएको छ।
पश्चिम सेतीबाट दोदोधरासम्म विद्युत् ल्याउन छुट्टै कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत यही केन्द्रमा जोड्ने अर्को प्रसारणलाइन पनि निर्माणको प्रक्रियामा छ। यसरी दोदोधरालाई मुख्य हब बनाइएपछि त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न सहज र छोटो मार्ग तयार हुने अपेक्षा गरिएको छ। यी सबै प्रसारणलाइन निर्माणका लागि करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। पश्चिम सेती ४०० केभी (१४५ किमी) प्रसारणलाइन बझाङ, डोटी, डडेलधुरा हुँदै कैलालीसम्म विस्तार हुनेछ, जसको लागत झन्डै २० अर्ब रुपैयाँ छ। यस परियोजनामा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाटका लागि बुकिङ भइसकेको छ।
त्यसैगरी, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ। ९१ किमी लम्बाइको यो लाइनलाई भारतसँग जोड्न थप ३० किमी विस्तार गरिने योजना छ। करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको केही खण्डमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ। कम्पनीका अनुसार ४०० केभीका करिब ४०२ किमी प्रसारणलाइन निर्माणका लागि मात्रै करिब ७० अर्ब रुपैयाँ आवश्यक पर्नेछ। यद्यपि, ठूलो बजेट आवश्यक पर्ने यस्ता आयोजनामा पर्याप्त लगानी अभाव मुख्य चुनौती बनेको छ। संघीय सरकारबाट सीमित बजेट विनियोजन हुँदा काम ढिलो भइरहेको बताउँदै प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिइएको छ। यदि आगामी दिनमा करिब ८ हजार मेगावाट विद्युत् उत्पादन भई त्यसको आधा हिस्सा निर्यात गर्न सकिएमा नेपालले वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।