काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारी तीव्र पारेका छन् ।
प्रधानमन्त्रीले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका हुन् ।
आजदेखि मात्रै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएको जनाएको छ ।
बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।
यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत छलफल भएको जनाइएको छ ।
यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला स्थानीय बासिन्दाको कडा विरोध र तत्कालीन सरकारका असहयोगका कारण अभियान सफल हुन सकेको थिएन । अहिले भने संघीय सरकारको नेतृत्वमै पुगेपछि उनले सोही मुद्दालाई पुनः अघि बढाएका हुन् ।