उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मंगलबार राति भएको भीषण आगलागीबाट पीडित परिवारलाई कोशी प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराएको छ। आगलागीबाट जनधनको ठूलो क्षति भएपछि पीडित परिवारको अवस्था बुझ्न पुग्नुभएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ।
पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राज्यमन्त्री गौतमले प्रदेश सरकारका तर्फबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल र बाल्टीलगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ। उनले सरकार पीडितको दुःखमा साथ दिन प्रतिबद्ध रहेको बताउँदै थप सहयोगको समेत आश्वासन दिनुभयो।
मंगलबार रातिको सो आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर दुखद मृत्यु भएको छ। घरभित्रै रहेका उनीहरू आगोको घेराबाट बाहिर निस्कन नपाउँदा ज्यान गुमाएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत् सर्ट भई काठले बनेका घरमा आगो सल्किँदा तीव्र रूपमा फैलिएको थियो। यस आगलागीबाट करिब ६३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
राज्यमन्त्री गौतमले प्रदेश सरकारको नीतिअनुसार मृतकका परिवारलाई उपलब्ध गराउने राहत रकमबारे जानकारी दिँदै भन्नुभयो, “प्रदेश सरकारको नीतिअनुसार एक जनाको मृत्यु हुँदा १ लाख र परिवारका थप सदस्यको मृत्यु हुँदा थप ५० हजार गरी कुल १ लाख ५० हजार रुपैयाँ राहत रकम हामीले जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिसकेका छौँ।”
यसका साथै, १० लाख रुपैयाँभन्दा बढी क्षति बेहोरेका परिवारका लागि प्रदेश सरकारले घर पुनःनिर्माणका लागि थप ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने व्यवस्था रहेको र सो रकम पनि प्रक्रिया पूरा गरी चाँडै प्रदान गरिने उहाँले स्पष्ट पार्नुभयो।