ललितपुर । नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्ललाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत ललितपुरको आदेशमा उनलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
जिल्ला अदालत ललितपुरकी न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई थुनामा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउन आदेश दिएको हो। एक महिलाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध बलात्कार र गर्भ संरक्षणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा मल्ललाई गत चैत १४ गते पक्राउ गरेको थियो। सोही आधारमा भएको थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।