काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम), मुसीकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ। विद्यालयको रकम हिनामिना गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानमा विद्यालयका पदाधिकारी र कर्मचारीहरूको मिलेमतोमा कूल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा भ्रष्टाचार भएको पुष्टि भएको हो ।
अनुसन्धान प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७८÷०७९ मा विद्यालयमा ‘प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम’ अन्तर्गत सर्भर, स्क्यानर, प्रोजेक्टर, ब्याट्री लगायतका सामग्रीहरू खरिद गरिएको भनिए पनि ती सामग्री विद्यालयमा आपूर्ति नै नगरी ४ लाख ८८ हजार ८११ रुपैयाँ २४ पैसा हिनामिना गरिएको छ । साथै, उक्त प्रविधि सञ्चालनका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने भनी बजेट विनियोजन गरिएकामा सो तालिम नै सञ्चालन नगरी झुट्टा बिल–भरपाई बनाएर २ लाख २० हजार रुपैयाँ भुक्तानी लिएको खुलेको छ । यसबाहेक, विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाएको शुल्क बैंक दाखिला नगरेको तथा बिना उद्देश्य विद्यालयको खाताबाट रकम झिकेर दुरुपयोग गरेको समेत पाइएको अख्तियारले जनाएको छ ।
यस भ्रष्टाचार प्रकरणमा आयोगले तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल र लेखापाल ठक बहादुर बुढाथोकीलाई मुख्य अभियुक्त बनाउँदै उनीहरूबाट बिगो असुल उपर गर्न मागदाबी गरेको छ । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, शाखा अधिकृत बिनाराम खड्का, सूचना प्रविधि अधिकृत गोपाल ओली र डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वल्र्डका प्रोप्राइटर शिव प्रसाद श्रेष्ठ लगायत विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर कायम गरी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।